[Show all top banners]

Rudramati

More by Rudramati
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 चाउरे (कथा)
[VIEWED 6394 TIMES]
SAVE! for ease of future access.
Posted on 08-28-13 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

जीवनको पहिलो कथा/लघुकथा। कस्तो लाग्यो, भएको छ कस्तो, साँचोसाँचो प्रतिक्रिया दिनुहोला। धन्यवाद! :)

~~~~~

“टीर्थे बाबु! एSS टीर्थे बाबु!! भिन्न लाइडेउ मलाई। माचि..ने खुपाचाले बस्नखान डिएन।“ आँगनको डिलमा टुसुक्क बस्दै चाउरेले गुनासो पोख्यो।

रातको रजाइँपछि बिहानी चियाउन खोज्दै थियो। बाहिर आँगनमा तोरी छोपेको गुन्द्री चिसोले कक्रक्क परेको थियो। तुषारोले संसार सेताम्मे पारे पनि रायोको पातका शीत कलिलो घाम परेर सुन्तले रङमा पोतिएझैँ देखिन्थे। तल्लो धारोमा पानी थाप्न पुगेका आइमाइ खितिति गर्दै थिए। कुँडो पकाउन ढुटो-पीठो मिसाएर बाहिर राखेको डेक्चीको बीट आधा उघ्रेको गोठको ढोकाबाट जीउ तन्काएर तान्न खोज्दै थिए लाम्काने खसी।

पुषको ठिहिर्‍याउने जाडोमा एकाबिहानै चाउरे हाम्रो घर आएको थियो न्याय माग्न। मेरा बा (हजुरबा) उबेलाका प्रधानपञ्च। बहुदल आएर दुईजना गाविस अध्यक्ष फेरिसकिए पनि बिहानदेखि बेलुकासम्म बालाई भेट्न आउने स्याउँस्याउँ हुन्थे।

“छु ढ्याउ कका? छु जुल सुन्ठा निसि?” ट्वाइलेटबाट घरतिर आउँदै गर्दा बाले सोध्नुभयो। [[के भन्छौ काका? एकाबिहानै के भो?]]

“खुपाचा रक्सी खार आयो फेरि… गाली गर्छ, धोकामा लाट्टी हान्छ… राटभर सुट्न डिएन। लथ्थी-लथ्थीले पित्यो पनि।“ चिसोले हो या जाँडले लट्ठिएका ओठबाट नेवारी लवजमा नीरिह बोली। हात थरथर कामिरहेका। डर, यातना, र शायद बाहिरको चिसोले होला। तिनै लुगलुग हातले कमीज मास्तिर सार्दै जीउको नील डाम देखायो चाउरेले। माथि कौसीबाटै देखिने ठूला, मोटा, लामा डाम थिए। “मर्न पाए मर्ठेँ बरू।“ स्वर रूञ्चे हुँदै गयो। अनिदो आँखामा आँशु ढिलपिल देखिन्थे। कट्कटिएको बाउलाको फेरले आँखा पुछ्यो। ‘सिँ…’ गरेर डिलउँधो सिँगान फ्याँक्यो।

“के नचाइने कुरा गर्छौ एकाबिहानै?” बा च्याँठ्ठिए। चाउरेसँग होइन, शायद उसको विवशतासँग। “त्यो स्वाँठसँग डराएर हुन्छ? घर जाऊ तिमी, मुजीलाई बाटाँ देखेँ भने त्यैँ गोद्छु। ल घर जाऊ अैले।“

“टिम्रै भरोसा बाबु। मलाई कुनडिन मार्छ टेल्ले।“ नमस्ते गरेझैँ हात जोरेर विदा माग्यो उसले।
_________________

उमेरले सत्तरी नाघेपनि चाउरे गाउँको सबैभन्दा बढी काम गर्ने मान्छे हुनुपर्छ। उसको नाम शायदै कसैलाई थाहा थियो.. थर चाहिँ रञ्जितकार। जीउ भुइँतिर दोब्रिएको, अगाडिका दाँत मुश्किलले ४ वटा बाँकी, हातगोडा-अनुहारको छाला मुजा परेको। त्यसैले होला चाउरे नाम पाएको। बिहान-बेलुकी गाउँभरिको दूध भर्ने ठेक्दार रामचन्द्रेको डेरीमा जान्थ्यो। अनि दूधले भरिएका, आफूभन्दा ठूला, यामानका सिलाबरे क्यान ढाडमा बोकेर तल चौतारामा ल्याई टाटामोबिलमा चढाउँथ्यो। क्यान ढाडबाट ओर्लिसकेपनि दूध, पानी छचल्किएर निथ्रुक्क उसको आङ बाङ्गै रहन्थ्यो केही छिन। पसलको पेटीमा एकछिन सुस्ताउँथ्यो, पसीना पुछ्थ्यो, चुरोट सल्काउँथ्यो, अनि खै के सोचेर क्यानको बिर्कोले थिचेको प्लाष्टिकबाट तपतप चुहिएका दूधका थोपा खेलाउँथ्यो। बस्दा पनि उसका गोडा लुगलुग कामिरहेका हुन्थे, अब ता उठे भने पनि पिटिक्कै भाँचिने पो हो कि जसरी। तैपनि फेरि डेरी जान्थ्यो, क्रम दोहोर्‍याउन। डेरीका सबै क्यान उसका जिम्मा… यस्तो लाग्थ्यो मानौँ शहरका शैतान पेटहरू चाउरेको पसीना मिसिएको दूधको पर्खाइमा छन। माथिबाट क्यान ल्याउन अलि सुस्त भयो भने ठेक्दार कराउँथ्यो: “खुफाहा बुडा, याकनन् या!” [[खुफाहा बूढो, चाँडो गर!]]

दूध नबोक्दा पारिवनको आइतबारे चौरमुनिको चार कुड्का खेतमा चाँदे चलाउँदै गरेको देखिन्थ्यो। वनछेउको पत्करले छोपिएको, सेपिलो खेत। मुश्किलले उम्रन्थ्यो केही। उम्रेको बाली पनि कालीज, मृग, बाँदर पसेर सखाप। तैपनि त्यतै चुहाउँथ्यो बचेखुचेको पसीना।

कहिलेकाहीँ आमा (हजुरआमा) भन्नुहुन्थ्यो: “दूध बोकीसकेर घर आउ है काका। हिजो पुर्सोतमले तुलाको मही छ, एक माना लैजाऊ।“

“डुलै, टिम्ले मै डेर मत्तै, नट्र जाँड खार ज्वारी खेल्ठेँ खुपाचासँग।” खैनीले डढेका ठेट्ना दाँत ङिच्च देखाएर भन्थ्यो।

“नातिनातिना खेलाउन पर्नी बेलाँ ज्वारी। कठै तिम्रा भाग्य।“ आमाको ‘च्व च्व’ गढ्थ्यो क्यारे मुटुमा, केही नसुनेझैँ भर्‍याङ ओर्लिन्थ्यो: “जग भोलि ल्याइडिन्छु है डुलै।“

सुनेको कुरा, गाउँको पूछारमा तीनोटा पानीघट्ट थिए रे उसका कुनैबेला – धान, मकै, र गहुँलाई छुट्टाछुट्टै। पाँच गाउँका मान्छे उसैकोमा जान्थे रे। जब अकालमै जहान तीलचामल छर्न गइन्, अनि लत्तो छोडेको रे। घट्ट बन्द, आय बन्द। भएको एक्लो छोरो गणेश सानै, ‘उसैको मुख हेरी मर्न सक्तिनँ’ भन्थ्यो रे चाउरे।

____________

गणेश अंकल र मेरो बुवा दौँतरी। जन्म, र बिहे २-३ मैना अघिपछि, दुवैमा बुवा जेठो। १० कक्षासम्मन त सँगे पढेका पनि। तर एसएलसी काट्न नसकेपछि पढाइ छोडे अंकलले। एकदिन भक्तपुर (ख्वप/खप) मावल गाउँबाट माया बसेकी केटी भगाएर बिहे गरेर ल्याएछन्। त्यसैले त नाम पाए खुपाचा। तर विचराको बालबच्चा भने भएन। ओखती खाए, धामी कमाए, बुटी दले, भाकल गरे। अहँ, भएन। तेसैले पनि होला बाटोमा भेट्दा छोरोझैँ गर्थे मलाई। काँधमा बोकी पसल पुर्‍याएर चिया, चाउचाउ किन्दिन्थे। उनको घरमा लगेर नाम्लोको पिङमा झुलाउँथे। गाउँकै स्कूलमा २ कक्षासम्म पढ्दा लिने-पुर्‍याउने पनि गर्थे।

याद छ, धेरैपटक बुवालाई भनेको: “पुन्दाइ, मेरो जन्मेन त के भो। तिम्रा दुइटा छँदै छन्। म मर्दा ढिकुरो कुराउन लाउ है यो जेठोलाई।“  अनि देब्रे कापको सुनको दाँत देखिने गरी मुख बाएर हाँस्थे। भित्र मनको हुण्डरी कसलाई थाहा।

डाक्टरकोमा जचाउँदा दोष दुवैमा देखियो। बच्चा नहुने नै भएपनि माया गरेर ल्याएकी बूढी छोड्न सकेनन्। अनि गणेश अंकलले पनि लत्तो छोडे। रातोदिन रक्सीसँग सँगत। घरमा सँधै होहल्ला। गाउँमा पनि उक्साउँदा रहेछन, तेरो बाउ बोक्सो, तेरो बाउ बिच्छुकी, तेरो बाउ ह्यान, तेरो बाउ त्यान। चाउरे ढोबा र खुपाचाबीच आमाचकारी गाली साटासाट नियमितजसो। उस्तै परे हात हालाहाल। चाउरे भन्ने ‘टँ हुटिहारा ख्वासाले नाटि पनि डिन सकिनस्’; खुपाचा भन्ने ‘तँ मर्न नसकेको बुडोको अलच्छिन लाएर नजन्म्या’। गालीको मर्म खोतल्दा यस्तो लाग्थ्यो चाउरेले नाति पाए, खुपाचाले बाउ मरे ठूलै उपलब्धि हासिल गर्थे।

यत्ति निहुँमा रातभर जुहारी चल्थ्यो बाउछोराको, कुस्ताकुस्ती पर्थ्यो। शुरुमा छुटाए पनि गाउँलेले तर दैनन्दिनी हुन थालेपछि कसले नदुखेको टाउको डोरी तानेर दुखाओस्। चाउरेलाई उमेरले गाँज्दै ल्याएरै होला, द्वन्द एकपक्षीय हुन थालेको थियो पछिल्ला वर्षमा। अनि सहन नसकेरै होला बासँग सहयोगको याचना गर्दै त्यो दिन चाउरे सखारै हाम्रो घर आएको।

__________

घरबाट विचारी लिएर बुवा जानुभो। खुपाचा राता आँखा, सुन्नेको मुख, मुन्टो लतारेर कोरामा बसेको थियो रे। गालाभरि आँशुको डाम। सुँकसुँक गर्दे गरेको ऊ बुवालाई देखेर भक्कानिएर रोयो रे। “पुन्दाइ मैले मारेँ बालाई। सन्तान नजन्मेको रिस बामाथि पोखेँ मैले। के दोष उनको? छोरा हुन सकिनँ। मै भनेर बाँचेको बाउलाई दिनदिन गरी मारेँ। मातेर बाउको रगत खाएँ।“

‘बाँचुञ्जेल हेरेन, मरेपछि नाटक गर्छ मुर्दार’ भन्ने पनि थिए रे। ‘जे भो भैगो, रोएर फर्किँदैन चाउरे’ भन्ने पनि थिए रे। ऊ भने घरीघरी चाउरे सुत्ने कोठाको झ्याल हेरेर टोलाउँथ्यो रे। आँखा चिम्म पारेर सुत्दा नि “बा” भनेर रून्थ्यो रे।

_______

“ए ए ए ए एSSSS!! सबै पोखियो कि के? कस्तरी लड्यो।“ खन्द्रयाङखुन्द्रुङ र गाल्टाङगुल्टुङको आवाजसँगै घर पछाडिको धाराबाट एकजना करायो। केही गुल्टिए जस्तो, कोही लडे जस्तो।

“टचलाइट ले टचलाइट!”

“ए उठाउ सबले ल ल… १, २, ३.. हैँSSSS।”

“ए पुन्दाइ, स्टेचर लेऊ स्टेचर झट्ट!!” एकजना घरतिर फर्केर चिच्यायो।

बुवा स्ट्रेचर बोकेर दौडिनुभो धारोतिर।

हाम्रो घरको ठ्याक्कै पछाडि धारो थियो। घर, धारो हुँदै माथि डेरी जाने बाटो। हाम्रो गाउँमाथिको शशिपानी मूलको पानी बनेपा लान खोज्दा प्रधानपञ्च बाबूढाले अड्डी कसेछन्: ‘पानी जाने बाटोका सबै गाउँलाई धारो नदिए बञ्चरोले पाइप काट्दिन्छु।‘ अनि चौबीसै घण्टा पानी आउन थालेपछि नै पारिवनबाट पानी ल्याउन छोडेका रे गाउँलेले।

धाराको पानी बग्ने खोल्सोमा गोडा चिप्लेर चाउरे लडेछ। अँध्यारोमा छामछुम गर्दै आफूभन्दा गह्रौँ दूधको क्यान बोकेर हिँड्न सजिलो कहाँ हुन्छ होला र! धर्मराएको ज्यानले क्यान हुत्ताउन नसकेर, ठ्याप्पै खसेर थिचेछ चाउरेलाई। आँखाले धारालाई कर्केर हेरेपछि पानी भनेको होला भनेर पानीले ओठ भिजाइदिएछन।

बुवा पुग्दा धारोछेउको सानो चौरमा सुताएका रैछन्; चाउरेको टाउको काखमा राखेर ठेक्दार “ढोबा, अ ढोबा” भन्दै बोलाइरेको थियो। तर मुख चल्दैन, जीऊ चल्दैन, हात-गोडा केही चल्दैनन्। ऐया पनि नगरी चाउरे मर्‍यो। जीन्दगीभर बोकेको दूधको क्यान अन्तिम हिक्कासम्म पनि बोकिइरह्यो उसले।

गुनासो कति थिए होलान जीवनप्रति; रिस कति थियो होला दैवसँग, अरूसँग; साँचिएका इच्छा कति थिए होलान बूढेसकालका लागि। सबै व्यक्त हुन नपाई, धेरै पूरा हुन नपाई, गुनासो नगरी चाउरे मर्‍यो।

बूढो चाउरे। गरीब चाउरे। दूधका क्यान बोक्ने पूछारघरे चाउरे, घटेरो चाउरे।

हुन नसकेको नातिको हजुरबाउ चाउरे। भएको छोरोको बाउ हुन नसकेको चाउरे।

न्याय माग्न आएको चाउरे। अन्याय भारी भएर मरेको चाउरे।
Source:Chaaure


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters